(१) फोहरमैला व्यवस्थापन स्थल वा प्रशोधन स्थल सञ्चालन गर्न स्थानीय निकायबाट स्वीकृति प्राप्त गरेको निजी क्षेत्रले स्थानीय निकायले तोकेको मापदण्ड तथा स्वीकृति दिंदाका शर्तहरुको अधिनमा रही कार्य गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम स्वीकृति प्राप्त निजी क्षेत्रले स्थानीय निकायले तोकेको मापदण्ड तथा निर्देशिकाको पालना नगरेमा स्थानीय निकायले देहाय बमोजिमको प्रकृया पुरा गरी स्वीकृति रद्द गर्न सक्नेछः–
(क) स्थानीय निकायले स्वीकृति प्राप्त निजी क्षेत्रको फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यको अनुगमन गर्दा स्थानीय निकायले तोकेको मापदण्ड र निर्देशिकाको पालना नगरेको पाइएमा त्यस्तो निजी क्षेत्रलाई पहिलो पटकको लागि नब्बे दिनसम्मको म्याद दिई सुधार गर्न निर्देशन दिने,
(ख) निजी क्षेत्रले खण्ड (क) बमोजिमको निर्देशन बमोजिम आंशिक सुधार गरी समय नपुग भएको भनी स्थानीय निकायसंग समय थप्न माग गरेमा स्थानीय निकायले बढीमा साठी दिनसम्मको समय थप गर्न सक्ने,
(ग) खण्ड (क) बमोजिमको अवधिभित्र स्थानीय निकायले दिएको निर्देशन बमोजिम सम्बन्धित निजी क्षेत्रले सुधार नगरेमा त्यस्तो निजी क्षेत्रले पाएको स्वीकृति रद्द गर्न सक्ने,
(घ) स्थानीय निकायले खण्ड (ग) बमोजिम स्वीकृति रद्द गरेको जानकारी सम्बन्धित निजी क्षेत्र र सरोकारवाला समेतलाई दिने ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि फोहरमैला व्यवस्थापन स्थल, प्रशोधन स्थल वा अन्य संयन्त्र सञ्चालन सम्बन्धी स्वीकृति रद्द भएको कारणले स्वीकृति प्राप्त निजी क्षेत्रले सो स्वीकृति बमोजिम काम नगरेको कारणले कसैलाई हानी नोक्सानी भएको पाइएमा त्यस्तो हानी नोक्सानी स्वीकृति प्राप्त निजी क्षेत्रले व्यहोर्नु पर्नेछ र त्यस्तो निजी क्षेत्रले स्थानीय निकायलाई बुझाउनु पर्ने कुनै रकम बाँकी रहेको भए सो समेत स्थानीय निकायले असूल उपर गर्नेछ ।